७ हजार मत गन्न बाँकी हुँदा बालेन्द्र २१ र सुनिता ४४ हजारले अगाडि


काठमाडौं जेठ १२। काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। केहीबेर अघि सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार १ लाख ८३ हजार ६ सय ७९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ। अब तीन वडाको मात्रै गणना बाँकी छ। पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार १ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन्।

यसै गरी एमाले उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत पाएका छन्। उपमेयर तर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ६६ हजार ८ सय ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत मात्रै पाएका छन्। काठमाडौं महानगरमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो।