राहदानी विभाग आइतबार पनि खुल्ने


काठमाडौं जेठ १२। राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ । सरकारको आर्थिक वर्ष २०८९ /८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ ।

यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म विभाग खुल्ने सूचना जारी गरेको छ । यो समयमा राहदानीको लागि आवेदन दिएकाहरुले विभागमा गएर राहदानी सम्बन्धी सेवा लिन सक्नेछन् । यस्तै विभागले, प्रिइनरोलमेन्ट पोर्टल तथा प्रणालीमा देखिएका प्राविधिक समस्याहरूको समाधान हुने गरी सफ्टवेयरमा मेजर अपडेटसमेत गरेको छ । यो अपडेट पश्चात् यसअघि प्रिइनरोलमेन्टमा देखिएका धेरैजसो समस्या समाधान हुने विभागले जनाएको छ । प्रिइनरोलमेन्टको क्रममा केही समस्या भएमा जानकारी गराउन समेत विभागले अनुरोध गरेको छ ।