आज बजेट संसदमा प्रस्तुत हुँदै


काठमाडौं जेठ १५। सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा आज (आइतबार) बजेट प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजस्व र ब्ययकाे वार्षिक बजेट दिउँसो ४ बजे प्रस्तुत गर्नुहुनेछ । गत असारमा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि अर्थमन्त्री शर्माले भदौमा बजेटको संशोधन विधेयक ल्याउनु भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको छ ।

चालू वर्षको आर्थिक सर्वेक्षणमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखाइएको छ । उक्त रकम मध्ये ११ खर्ब ११ अर्ब सरकारी क्षेत्रबाट, ७ खर्ब ३९ अर्ब निजी क्षेत्रबाट, ८७ अर्ब रुपैयाँ सहकारी तथा गैरसरकारी क्षेत्रबाट र ८८ अर्ब घरपरिवार क्षेत्रबाट लगानी हुनुपर्ने सरकारको अनुमान रहेकाे छ । यसमा सरकारी र निजी क्षेत्रबाट हुने लगानीमा क्रमशः २ खर्ब १८ अर्ब र ३ खर्ब ६७ अर्ब गरी वार्षिक औसत ५ खर्ब ८५ अर्ब अपुग हुने देखिएको सरकारले बताएको छ । यद्यपि, दिगो विकास लक्ष्य कार्यान्वयन लाई प्रभावकारी र व्यवस्थित बनाउन नीतिगत, कानूनी तथा संस्थागत संरचना तयार गरिएको छ । आर्थिक संकट गहिरिंदै गएको बेला सरकारले भने यसै वर्ष हुने संसद र प्रदेश सभा चुनावका लागि लक्षित गरी लोकप्रिय कार्यक्रमहरू समावेश गरेको बुझिएको छ । वृद्ध भत्ता पाउने उमेर ७० बाट घटाएर ६८ बनाइने छ भने अन्य सामाजिक भत्ता पनि थपिने बुझिएको छ ।