खराब मौसमले हराएको जहाज खोज्न कठिनाई, हेलिकप्टर पोखरा र जोमसोम फर्किए


आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो । थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक–पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ । हिराचनकाअनुसार अब आइतबारका लागि हेलिकोप्टरबाट खोजी कार्य स्थगित गरिएको छ ।

न्याउरीकोटको लेकभन्दा तलको खोँचमा दुर्घटनाको आशंका

थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार विमानका चालकले प्रयोग गरेको मोबाइलको नेटवर्क न्याउरीकोटभन्दा माथि रहेको लेक आसपासमा देखिएको छ । उक्त क्षेत्रमै मोबाइलको नेटवर्क देखाएको कारण विमान न्याउरीकोटको लेकभन्दा तल पर्ने मानापाथी हिमालको फेदमा रहेको खोँचमा दुर्घटनामा परेको आशंका गरिएको छ । तर उक्त क्षेत्रमा पुग्न कठिन भएको कारण त्यहाँ आज पुग्न असम्भवजस्तै रहेको हिराचनले बताए ।

खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय युवाको टोली सम्भावित दुर्घटनास्थलतर्फ पैदल नै गएको हिराचनले बताए । तर दुर्घटनाको सम्भावित क्षेत्र अत्यन्तै विकट भएको कारण आजै पुग्न कठिन हुने हिराचनले बताए ।

यता नेपाली सेनाले पनि खराब मौसमका कारण आइतबार उद्धारको काम गर्न नसकिएपछि आफ्नो एम आई १७ हेलिकोप्टरलाई जोमसोममा लगेको बताएको छ । हेलिकोप्टरको माध्यमबाट आइतबारको खोज तथा उद्धार स्थगित गरिएको बताउँदै मौसम खुलेपछि सोमबार बिहानैबाट खोज तथा उद्धारमा लाग्ने सेनाले जनाएको छ ।