दुर्घटनाग्रस्त विमान भएको ठाउँमा पुग्यो उद्धार टोली, शव संकलन कार्य शुरू


काठमाडौं जेठ १६। मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको विमानमा सवारको शव संकलन सुरु भएको छ। नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले उद्धार टोली घटना स्थलमा पुगेको र उद्धार कार्य जारी रहेको जनाकारी दिए। कर्णले थाहाखबरसँग भने, ‘उद्धार टोली घटनास्थलमा पुगेको छ, एकदमै भिरालो भएकोले शव यत्रतत्र छरिएकाले शव संकलन कार्य भइरहेको छ।’ उनले विमानमा आगो नलागेको हुनाले कोहि जिवितै हुनसक्ने आशंका रहेको पनि बताए। ​ यस्तै नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र घटनास्थलमा सेनाको उद्धार टोली पुगेको र अब नागरिक उड्यन प्राधिकरणले यसको सबै को–अर्डिनेशन गरिरहेको बताए।

घटनास्थल पुगेका स्थानीय इन्द्रसिंह शेरचनले शव क्षतविक्षत अवस्थामा रहेको र बताए। उनले भने, ‘विमानमा आगो लागेको छैन। हामी शव संकलन गरिरहेका छौँ। १०–१२ वटा शव खोँचमा देखिएका छन्। तर निकाल्न सकेका छैनौं।’​
यस्तै थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले विमान दुर्घटना भएको ठाउँमा पुगेको र उद्धारकार्य शुरु गरेको बताए। आइतबार बिहानदेखि हराएको विमान नेपाली सेनासहितको उद्धार टोलीले नभेटेपछि खोजी स्थगित गरेको थियो। आज विहान यार्सागुम्बा टिप्न गएको टोलीले दुर्घटना स्थल भेटेर फोटो सार्वजनिक भएको थियो। त्यसपछि नेपाली सेना सहितको उद्धार टोली घटनास्थल नजिक पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।

हिजो विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो। नाइन एन ए इटी कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ। जसमा धनुषाको मिथिला नगरपालिका-११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन्। यस्तै गोरखाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन्। यस्तै विमानमा अर्का जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ। विमानमा अर्का पाइलट वसन्त लामा पनि विमानमा रहेको जनाइएको छ।