विमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जनाको मृत्यु


काठमाडौं जेठ १६। मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु भएको हो । मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दूर्घटनामा मृत्यु भएको जानकारी दिनुभएको छ ।

मेयर महतोका अनुसार दूर्घटनाग्रस्त विमानमा लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए । उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट विमानमा जोमसोम जाँदै गर्दा विमान दुर्घटना भएको हो । यस्तै, गोरखाको एकै परिवारका चार जनाको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ एकै परिवारका हुन ।