जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइँदै


काठमाडौं जेठ १६। तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । त्यसको भोलिपल्ट सोमबार बिहान सो जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले शव संकलन गरेको छ । हालसम्म १४ जनाको शव भेटिएको छ । जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । दुर्घटनाबारे छानबिन गर्न समिती गठन गर्ने तयारी सरकारको छ। जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र एअर होस्टेज किस्मी थापा थिइन् ।