सडकदेखि सञ्जालसम्म अभिनेत्री मगरको विरोध, पक्राउ परेका तामाङ छुटाउन प्रदर्शन


आफूलाई ‘नियतवश छोएको’ भन्दै ‘कबड्डी ४ द फाइनल म्याच’ हेर्न आएका दर्शकलाई झापड हानेर प्रहरीको जिम्मा लगाएकी फिल्मकी अभिनेत्री मिरुना मगरको उल्टै आलोचना भएको छ।

सामाजिक सञ्जालदेखि सडकमा पनि मिरुनाले ‘निर्दोष’लाई आरोप लगाएको भन्दै उनको विरोध भएको छ। मंगलबार बिहान मात्रै चाबहिलस्थित केएल टावरमा दर्शकले फिल्मको पोस्टर च्यात्ने तथा जलाउनेदेखि फिल्मको प्रदर्शन बन्द गर्न दबाब दिँदै नाराबाजी समेत गरेका छन्।

आइतबार सिभिल मलमा फिल्म हेरेर निस्किने क्रममा ‘कबड्डी ४ द फाइनल म्याच’की अभिनेत्री मिरुना मगरलाई ‘छोएको’ आरोपमा फुर्वा तामाङ पक्राउ परेका थिए। आफूले नियतवस नछोएको भन्दै माफी समेत मागेका फुर्वालाई प्रहरी बोलाएर पक्राउ गराएको भन्दै मिरुनाको विरोध भएको छ।

हाल सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया र केही ठाउँमा फिल्मको पोस्टर जलाउने र आन्दोलन गर्ने सम्मका काम भइरहेका छन्।

आइतबार फिल्म हेरेर फर्किने क्रममा तामाङले अभिनेत्री मिरुना मगरलाई ‘छोए’पछि उनले तामाङलाई झापड हानेकी थिइन्। तामाङले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।

उक्त घट्नापछि सामाजिक सञ्जालदेखि सडकमा पनि यो मुद्दा तातेको छ। तामाङले आफूले नियतशव नभइ झुक्किएर छोएको र सबैको सामुन्ने माफी समेत मागेको बताइएको छ। तर, ‘अन्जान’मा गल्ती गरिएको व्यक्तिलाई प्रहरी हिरासतमा राखिएको भन्दै सामाजिक सञ्जालदेखि सडकमा पनि ‘कबड्डी–४’को विरोध भइरहेको छ। तामाङलाई बिना कुनै सजाय छाड्नुपर्ने प्रदर्शनमा उत्रिएकाहरुको माग छ।

मंगलबार बिहानमात्रै चाबहिलस्थित के एल टावरमा फिल्मको विरोध गर्दै नाराबाजी भएको थियो। मिरुनाविरुद्ध दर्शकले नारा जुलुस गर्ने र फिल्मको पोसटर च्यात्ने तथा जलाउने काम गरेका थिए। सँगै फिलम रोक्न पनि दबाब दिइरहेका थिए।

यता फिल्मको निर्माण पक्षले भने फिल्मको व्यापार र प्रदर्शनमा असर पर्ने भएकाले बुद्धिस्ट संघसंस्थासँग वार्ता गरिरहेको बताइएको छ।