नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा


काठमाडौं जेठ १९। नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम लगायत पनि मारिएका थिए। हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तत्कालीन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गरेका थिए।

समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्। २०६२\६३ को जनआन्दोलनमार्फत पुन:स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो।