मेयर बालेनले माओवादी अध्यक्ष प्रचण्डलाई भेटे


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

काठमाडौँकाे फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् ।शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहन आश्वासन दिएका थिए । प्रचण्डले भने. ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले हजुरलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ। ”

प्रचण्डले संसदमा विजयी स्वतन्त्र मेयर बालेन र धरानका मेयर हर्क साम्पाङको खुलेरै प्रशंसा गरेका थिए । मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।