चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने


पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डीसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ ।

चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् ।  जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।