माओवादी केन्द्रले १०० रुपैयाँको दरले रकम संकलन गर्ने


नेकपा माओवादी केन्द्रले हरेक पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिए ।