मन्त्री फेर्ने निर्णय प्रधानमन्त्री देउवाबाट अस्विकार, नयाँ मन्त्रीलाई शपथ दिन मानेन्न


नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो।

छलफलमा केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न आफू नचाहेको देउवाले बताएका थिए। देउवाको अडानपछि तत्काल नयाँ मन्त्री नथप्ने निर्णय भएको हो। ‘बजारमा चलेको हल्ला बजारमै सकियो,’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने।

आइतबार पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादी पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो। नयाँ मन्त्रीहरुको नाम पनि बालुवाटारमा पठाइसकिएको थियो।

नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको थियो । नयाँ मन्त्रीमा मेटमणि चौधरी शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्रीमा तोएिको थियो ।

यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने थियो भने यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको थियो । एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री, विरोध खतिवडा स्वास्थ्य मन्त्री छन् । वर्तमान मन्त्रीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । ६ महिना मन्त्री बन्ने पार्टी सहमति अनुरुप मन्त्रीहरुको हेरफेर गरिएको जनाइएको थियो ।