आदेश बिना प्रहरीले बर्दियामा गोली चलायोको गृहमन्त्रीको भनाई, कारवाही गर्ने चेतावनी


गृहमन्त्री वालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको घटनाबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।

सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले दोषीलाई कारवाही गर्नका र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराए । घिमिरेको नेतृत्वमा प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका गिरिराज पाण्डे लगायत ५ जनाको छानविन समिति बनाइएको छ ।

नागरिकलाई गोली हान्न सरकारले आदेश नदिने भन्दै मन्त्री खाँणले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । आज विहान सर्वदलीय बैठक बसेको, घाइतेको उपचार गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने, मृतकको परिवारलाई भरणपोषणको व्यवस्था मिलाउने बताए । यस्तै वन्यजन्तुबाट स्थानीयलाई जोगाउन सरकार गम्भीर रहेको र तारबार लगाउन सम्बन्धित मन्त्रालयले तत्काल बजेट व्यवस्था गर्ने मन्त्री खाँणको भनाइ छ ।

बर्दियाको मधुवन सोना गाउँमा जेठ २३ गते बिहान चितुवाले आक्रमण गरेर अस्मिता थारु घाइते भएपछि बाघ चितुवाबाट मानिसहरुको जीवन रक्षाको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा नविना चौधरीको मृत्यु भएको थियो ।