नि:शुल्क इन्डक्सन बाँड्न विद्यार्थीसँग आवेदन माग, यस्तो छ निवेदन र सिफारिसको ढाँचा


काठमाडौं, जेठ २५ । सरकारले निःशुल्क विद्युतीय चुलो (इन्डक्सन) वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्न आवेदन माग गरेको हो।

सरकारले काठमाडौँ बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवर्द्धन गर्न चुलो वितरण गर्न थालेको हो। केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म आवेदन दिन माग गरेको छ।