मन्त्री हेरफेरको एजेण्डाले सत्तारुढ दलभित्र तरंग


काठमाडौं, जेठ २६ । मन्त्री फेरबदलको एजेण्डाले सत्तारुढ दलहरुभित्र तरंग पैदा भएको छ । नेकपा एकिकृत समाजवादीले आफ्ना सबै मन्त्रीहरु फेर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफरिस गरेपछि अन्य पार्टीहरुमा पनि मन्त्री फेर्न दबाब बढेको छ । एकिकृत समाजवादीका बहालवाला मन्त्री तथा नयाँ प्रस्तावित मन्त्रीहरुबीच सम्बन्ध चिसिंदो छ । आजसम्म आफुले शपथ लिने एकिकृत समाजवादीका नेता मेटमणी चौधरी बताउनुहुन्छ ।

माओवादीमा पनि मन्त्री फेर्न दबाब बढेको छ । माओवादीका नेता वर्षमान पुनले बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री फेर्न पार्टीभित्र आवाज उठिरहेको भएपनि अहिलेसम्म यो विषयमा छलफल भने सुरु नभएको बताउनुभयो । उता, जनता समाजवादी पार्टी त फुटकै नजिक पुगेको छ । यद्यपि, नेताहरू भने त्यसलाई अस्वीकार गर्छन् ।

जसपाका एक नेताका अनुसार पार्टीबाट मन्त्रीहरू हेरफेर हुँदा मात्र पार्टी जोगिने सम्भावना छ  । तर, अध्यक्ष उपेन्द्र यादव तत्काल पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाई हाल्ने पक्षमा देखिनुहुन्न । उहाँ सकभर आगामी निर्वाचनसम्म अहिलेकै मन्त्रीहरूलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ । अध्यक्ष यादवले ६ महिनामा मन्त्री हेरफेर गर्ने बताए पनि अहिले वास्ता नगरेको असन्तुष्ट पक्षहरूको भनाइ छ  ।