अमेरिकी सैनिक जनरल चाल्र्स ए फ्लिन काठमाडौंमा, यस्तो छ कार्यक्रम तालिका!


काठमाडौं, जेठ २६ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन नेपाल आइपुगेका छन् । चारदिने औपचारिक भ्रमणका लागि इन्डियो एयरलाइन्स नयाँ दिल्लीबाट बिहीबार जनरल फ्लिन नेपाल आइपुगेका हुन् । प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेका अवस्थामा अमेरिकाबाट जनरल फ्लिन नेपाल आइपुगेका हुन् । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल फ्लिनको सद्भावना भ्रमण रहेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

शुक्रबार उनले सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम रहेको छ । सैनिक मुख्यालयमा जनरल फ्लिनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ । त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फ्लिनले भेटवार्ता गर्नेछन् । बेलुकी प्रधानसेनापति शर्माले जनरल फ्लिनको सम्मानमा रात्रिभोज गर्ने बताइएको छ । जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनी सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा बिहानको खाना खाने तयारी रहेको जानकार िगराइएको छ ।

जहाँ नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले जनरल फ्लिनलाई साथ दिनेछन् । जनरल फ्लिनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन् । त्यहाँ बिहानको खाना खाएर शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने र सम्भवतः विद्यार्थीलाई सम्बोधन गर्ने सैनिक मुख्यालयले जनाएको छ । त्यसपछि बेलुकी उनी फर्कनेछन् । त्यसपछि जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।