काठमाडौं, जेठ २६ । नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले बिहीबार उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रूपमा प्रतिवेदन बुझाउनुभएको हो ।
नेता पौडेलले प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसको मुख्य प्राप्ति र निष्कर्ष समेट्नुभएको छ । जसमा वडागत रूपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा कांग्रेस पहिलो भएको छ । कांग्रेसले ७५२ मध्ये ३२९ पालिकाको नेतृत्व हात पारेको छ । ३ सय पालिकामा उपप्रमुख जितेको कांग्रेसले प्रतिवेदनमा उल्लेख गरेको छ । कांग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ । कांग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ रहेको छ । प्रदेशगत रूपमा पनि कांग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको कांग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ । ०७४ मा भएको स्थानीय निर्वाचनभन्दा यस पटक मत र पद दुवैमा कांग्रेसले प्रगति गरेको निष्कर्ष निकालिएको छ ।
७४ मा जितेको २६६ पालिका मध्ये यसपटक १४० मा कांग्रेसको नेतृत्व दोहोरिएको छ । विगतमा जितेको १२५ पालिकाको नेतृत्व भने कांग्रेसले गुमाएको छ । यस्तै उसले ०७४ मा नजितेको १८९ पालिका जित दर्ता गराएको छ । २०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको स्थानीय तहको संख्या २९८ रहेको पौडेलको प्रतिवेदनमा उल्लेख छ । यस्तै ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएका प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले गठबन्धन साथमा २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।