विपद्‌बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने, पूर्वतयारी शून्‍य


काठमाडौं, जेठ २६ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। यसै वर्षको मनसुनजन्य विपद्‌बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरूले बताइरहेका छन्। यो वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ। जसकारण मौसमविज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्वतयारीका लागि ध्यानाकर्षण गराइरहेका छन्।

यो वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौँबाट पश्चिमका क्षेत्रमा अत्यधिक वर्षा हुने मौसमविद्हरूको आँकलन छ। त्यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले यो वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन्।

‘सरकार जिम्मेवार बन्नुपर्छ’

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद् व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पुर्‍याउनुपर्ने बताइन्। उनले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर वेलैमा व्यवस्थापन गर्नुपर्ने बताए। विगतका घटनाबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताए। सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। ‘सरकारले बाढी आउने ठाउँका बासिन्दालाई अन्यत्र सारेर भए पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यस्तै खेती, बाली नोक्सान हुन नदिनका लागि पनि सरकारले विभिन्न किसिमका राहतका कार्यक्रम किसानसमक्ष पुर्‍याउनुपर्ने अवस्था पनि हुन्छ। कतिपय पहिरोले घर पुरिएर विस्थापित हुनुपर्ने अवस्था छ’‚ उनले भनिन्।

‘त्यसको तथ्यांक र विगतका घटनालाई लिँदै आएर त्यस्ता घटना फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रूपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनु पर्छ। तत्कालै राष्ट्रिय बजेटबाट योजना र कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउनका लागि पनि विशेष बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ।’ नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताए। उनले मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुने गरी पूर्वतयारीमा जुट्नुपर्ने बताए।

घटनापछि तत्काल ‘रेस्पोन्स’ गर्न सक्नुपर्ने उनले बताए।

‘सरकारको मातहतमा विपद् व्यवस्थापन प्राधिकरण नै छ। त्यसो हुँदा तयारी गरेको होला भन्ने हो। सम्भावित विपद् बाढी, डुबान, पहिरो लगायतका अहिलेका सिजनमा हुने विपद्को तयारी गरेकै छ’‚ उनले भने, ‘तयारी आफ्नो ठाउँमा छ। खासगरी मनसुनबाट हुने क्षति अनुमान गर्नै सक्दैनौँ। कमभन्दा कम क्षति हुनेगरी तयारी र घटना घटिसकेपछि त्यसलाई रेस्पोन्स गर्ने हुनुपर्छ।’

डोजरका कारण जाेखिम

नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्यधिक रूपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताए। उनले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने बताए। विपद्का सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने पनि उनको भनाइ छ। सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाए।

विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रूपमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले स्थानीय तहले पनि पर्याप्त बजेट विपत् व्यवस्थापन र पूर्वतयारीका लागि छुट्याउनुपर्ने बताए। साथै विपद् परेको अवस्थामा तत्काल उद्धार गर्नका लागि एउटा युनिट गठन गरिराख्न पनि आग्रह गरे। ‘बाढी, पहिरोमा बढी क्षति किन भयो भन्दा गाउँघरमा जथाभावी डोजर हानेर हो। वातावरणीय प्रभावको मूल्यांकन छैन। जता पनि डाँडा कोतरेको छ। जता पनि करेसाबाट बाटो लगेको छ। हिउँदमा करेसाबाट बाटो खनेको छ। बर्खामा घर गएको छ। त्यसकारणले यस्ता खालका विकास निर्माणका काममा पनि हामीले गम्भीरतापूर्वक छलफल गर्नुपर्छ’‚ उनले भने।

‘डोजर विकासको अन्त्य गर्ने। सरकारले सचेतना फैलाउने। सरकारले बजेट पर्याप्त विनियोजन गर्ने। सरकारले तत्काल रेस्पोन्स गर्नका लागि रेस्पोन्स टिम गठन गर्ने। पूर्वतयारी बिल्कुल देखिदैन। सरकार पूर्वतयारी गर्दैन। स्थानीय तहको बजेटको ७० प्रतिशत बजेट डोजरमा जान्छ। प्रत्येक स्थानीय तहले क्वीक रेस्पोन्सका लागि तयार गर्ने। स्थानीय तहले सामाजिक संघसंस्थाहरूसँग छलफल गर्ने। विपद् व्यवस्थापनका लागि एउटा टिम बनाउनु पर्छ। मेरो आग्रह, स्थानीय तह नीति, कार्यक्रम, बजेट बनाउने ठाउँमा हुनुहुन्छ। पहिलो कुरा, विपद् व्यवस्थापनका लागि एउटा युनिट गठन गर्नुस् र त्यसमा बजेट पर्याप्त राख्नुस्।’

‘सरदरभन्दा बढी वर्षा हुन्छ’

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यो वर्ष प्रदेश १ को हिमाली भूभाग र मधेश प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताए। उनले विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रमा बढी पानी पर्ने भएको भन्दै सरकारले त्यसमा पूर्वतयारी थाल्नुपर्ने बताए। उनले हरेक जिल्लामा पूर्व सूचना प्रणालीको विकास गरेर र सुरक्षानिकायलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्न नहुने बताए।

‘लामो समयको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले र भारतको मौसम विभागले, दक्षिण एशियाको मौसम विभागले जुन प्रक्षेपण गरेको छ, त्यो हेर्दा नेपालको पश्चिमी क्षेत्र काठमाडौंबाट पश्चिमी क्षेत्र र प्रदेश १ को हिमाली क्षेत्र बाहेक र मधेश प्रदेशको केही भूभागमा अलि कम पर्ने र बाँकी भागमा कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा यस वर्ष औसतभन्दा बढी पानी र वर्षा हुने प्रक्षेपण गरिएको छ। यो वर्ष १७ लाख मानिस प्रभावित हुने प्रक्षेपण छ’‚ उनको भनाइ छ। विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपत्‌कालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्वतयारी थाल्नुपर्ने बताए। बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकोले त्यसतर्फ सचेत रहनुपर्ने बताए।