चितवनको तोपे खोलामा सुक्खा पहिरो, मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध


काठमाडौं, जेठ २७। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

हिजो पनि पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए । राभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुर्याइरहेको बेला फेरि खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन् ।हिजोदेखि सडक बल्ल–बल्ल क्लियर गरेर सवारी सञ्चालन गरिरहेका थियौं, लेन अनुशासन नहुँदा जाम त भएकै छ, हामीले कारबाही पनि गरेका छौं,’ बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी राठौरले भने, ‘फेरि सुख्खा पहिरो आएर सडक रोकियो झनै समस्या भयो ।’

पहिरो पन्छाउने काम जारी छ । तर सडकमा सवारी साधनको लामो लाइन भएकाले सहज हुन समय लाग्ने राठौरले बताए । ‘सडकमा सवारी साधनको लामो लाइन छ, लेन अनुशासन पालना नगर्दा यात्रुहरुले दुःख पाएका छन्, हामीले ट्राफिक जनशक्ति सबैलाई यहीँ परिचालन गरेका छौं,’ एसपी राठौरले भने, ‘आँबुखैरेनी नजिकै सडक भासिएपछि पोखरा लगायतका ठाउँमा जाने सवारी साधनलाई पनि भरतपुरकै इलाकामा रोक्ने काम गरेका छौं ।’ जाम भएका सवारी साधनको लाइन चितवनको रामनगरसम्म छ । एसपी राठौरका अनुसार धादिङ प्रहरीसँग पनि समन्वय गरेर काठमाडौं लगायतका ठाउँबाट पोखरा जाने सवारी साधनहरुलाई बाटोको अवस्था हेरेर मात्रै आउन भनिएको छ ।