विश्वकप लिग टु अन्तर्गत नेपालले आज अमेरिकाको सामना गर्दै


काठमाडौं, जेठ २८। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो खेल खेल्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले शनिबार राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्न चाहन्छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । अमेरिका नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ । लिग टु मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।