पूर्वमन्त्री मिथिला चौधरीको उपचारकाे क्रममा भारतमा निधन


काठमाडौं, जेठ २८। पूर्व जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । क्यान्सरबाट पीडित पूर्व मन्त्री चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले जानकारी दिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । त्यसबेला चौधरी नेकपा (संयुक्त)को सांसद रहेकी थिइन् । संविधान सभा २०७० को सभासद रहेकी चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो । यसैबेला देउवाले मन्त्रिपरिषद पुर्नगठन गरी ६४ सदस्यीय बनाएका थिए ।

रामनारायणलाल दास र रुकमीनी कर्णकी छोरीका रुपमा वि.सं. २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका–८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । विवाहपछि नै राजनीतिक दलका नेताहरुको घरमा आवतजावत हुँदा उनी पनि राजनीतिमा संलग्न भएकी हुन् । चौधरी वरिष्ठ वामपन्थी नेता बिष्णुबहादुर मानन्धरबाट प्रभावित थिइन् । चौधरी नेपाल महिला फेडरेशन सप्तरीको अध्यक्ष समेत थिइन् । उनको श्रीमान, एक छोरा र दुई छोरी छन् ।