एकै चरणमा कात्तिक मसान्त वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी छ: प्रचण्ड


काठमाडौं, जेठ ३०। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेश सभा चुनावको तयारी भइरहेको बताएका छन्। कात्तिक मसान्त वा मंसिर पहिलो साता संघीय/प्रदेश सभा चुनाव हुने भएकोले तयारी गर्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। आज बर्दिया पुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय चुनावजस्तै एकै चरणमा संघीय/प्रदेशको चुनाव गर्ने तयारी रहेको बताए।

‘संघीय र प्रदेशको चुनावको तयारीमा छौं। कात्तिक मसान्त वा मंसिर पहिलो साता चुनाव गर्ने गरी सत्ता गठबन्धनमा छलफल भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्षको कुरा पनि यही समयमा चुनाव गर्ने भन्ने छ।’ उनले एकै चरणमा चुनाव गर्ने गरी छलफल गरिएको पनि बताए। तर सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको उनको भनाइ थियो। ‘हाम्रो कोसिस एकै चरणमा चुनाव गर्ने भन्ने छ,’ उनले भने।