काठमाडौं, असार ०१। करिब तीन महिनादेखि एउटा सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा थुनामा छन् । चोरी सिकारी गरेको आरोपमा कुकुरलाई थुनामा राखिएको हो । गत फगुन २४ गते शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा जंगली जनवार चोरी सिकारी गरेका आरोपमा गुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी तामाङ र छिमेक तामाङ समातिएका थिए । उनीहरूका साथमा उक्त कुकुर पनि थियो ।
प्रहरी चौकी पुलु मुगुले पक्राउ गरेको चार व्यक्तिसहित कुकुरलाई डिभिजन वन कार्यालय मुगुलाई बुझाएकोृ थियो । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलायो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन जेठ १२ मा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे । तर उनीहरुसँगै पक्राउ परेका कुकुर अझै थुनामै छन् । प्रतिवादी नभएको कारण देखाउँदै डिभिजन मुगुले सिकारी कुकुरलाई थुनामै राखेको हो । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।
कुकुरको विषयमा अदालतले केही नबोलेपछि कुकुरलाई थुनामा राखेको वन कार्यालय मुगुले जनाएको छ । वन कार्यालयका सूचना अधिकारी प्रनिल देवकोटाले भने, ‘कुकुरको बारेमा अदालतले केही नखुलेपछि कसैलाई बुझाएको छैनौं । कुकुरलाई वन कार्यालयमै सुरक्षित राखेका छौँ ।’ वन्यजन्तुलाई हानिनोक्सानी र्पुयाउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छाड्ने पक्षमा छैनन् । राष्ट्रिय निकुञ्ज ऐनअनुसार आदेश लिएर सिकारी कुकुरलाई मार्ने अधिकार छ । तर, अदालतबाट कुनै आदेश नआएकाले त्यतिकै छाड्ने या मार्ने भन्ने टुंगो नलागेको वन कार्यालयाले जनाएको छ । कुकुरको रेखदेख वन कार्यालयले गरिरहेको छ ।