एसपीपी सम्झौता अघि बढेको छैन : नेपाली सेना, नेपालकै आग्रहमा स्वीकृत भइसक्यो : अमेरिका


काठमाडौं, असार ०२। नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नभएको जनाएको छ । अमेरिकाले नेपालकै आग्रहमा सम्झौता प्रस्ताव गरेको बताइरहँदा सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने प्रस्ट पारेको छ ।

नेपाली सेनाले विज्ञप्ति निकालेर नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकूल असर पर्नेगरी भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिबद्धता जनाएको छ । सेनाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया पनि नभएको जानकारी गराइन्छ ।’

अमेरिकाले भने एसपीपीमा सहभागी हुन नेपालले गरेको अनुरोधलाई स्वीकृत गरिसकेको दाबी गरेको छ । नेपालमा रहेको अमेरिकी दूतावासका कार्यवाहक राजदूत मानुअल मिकलरले हिजो पत्रकारहरुसँगको कुराकानीमा सन् २०१५ र २०१७ मा गरी दुई पटक नेपालले एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको दाबी गर्नुभएको हो । एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने र अहिले सञ्चार माध्यममा सार्वजनिक भएको मस्यौदा पनि सत्य नभएको उहाँको भनाइ छ ।

अमेरिकी सैन्य रणनीति अन्तर्गत रहेको एसपीपीमा हस्ताक्षर हुन लागेको चर्चा बढेपछि प्रतिनिधि सभामा विरोध भएको छ । सांसदहरूले एसपीपीको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै त्यसमा समर्थन नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा एसपीपीमा हस्ताक्षर गर्न लागेको र त्यसको लागि अमेरिकाले दबाब दिएको भन्दै सार्वजनिक रूपमा समेत सरकारमाथि खबरदारी भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमति विना कुनै पनि सम्झौता नहुने बताउनुभएको छ । सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उहाँले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए पनि आफूले नमान्ने बताउनुभएको हो।