एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर हुँदै


काठमाडौं, असार ०४। नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् । बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हाे । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भएपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ ।

एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै समूहले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेका छन् । जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद बढेको छ । दुवै पक्ष पार्टी विभाजन हुन सक्ने भन्दै बहुमत आफ्नोतर्फ पार्न सांसद तानातानमा रहेका छन् । यादव र भट्टराई दुवैले प्रधानमन्त्रीलाई भेटेर आफूले सिफारिस गरे अनुसार मन्त्रिपरिषद् हेरफेर गर्न आग्रह गरेको बालुवाटार स्रोतले जनाएकाे छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धन प्रभावित हुने गरी जसपाको आन्तरिक राजनीतिमा प्रवेश नगर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन् । माओवादीका नेता नारायणकाजी श्रेष्ठले भने पार्टीका तर्फबाट मन्त्री हेरफेर गर्ने विषयमा छलफल नभएको बताउनुभएकाे छ । त्यस्तै, यता नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि मन्त्री हेरफेर गर्ने विषयम पार्टीमा छलफल नभएको बताउनुभएकाे छ ।