पहिरोले तीन दर्जन बढी परिवार विस्थापित


काठमाडौं, असार ०४। ताप्लेजुङमा निरन्तरको वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले तीन दर्जन बढी घरपरिवार विस्थापित भएका छन् । जिल्लाभर कुनै ठाउँमा पहिरोले घर पूर्णरुपमा क्षति पुर्याएको र कुनै ठाउँमा अति जोखिममा पारेका कारण उक्त घर परिवार विस्थापित भएका हुन् । जिल्लाको सिरिजङ्घा गाउँपालिकामा सबैभन्दा बढी परिवार पहिरोका कारण विस्थापित भएको बताइएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङका वडाध्यक्ष बुद्धि दाहालका अनुसार खेबाङमा मात्र ३० घरपरिवार बढी पहिरोले विस्थापित भएका छन् । पहिरोले केही घरमा बस्न नमिल्नेगरी क्षति पुर्याएको र अधिकांश पहिरोको उच्च जोखिमका कारण उनीहरु विस्थापित भएको वडाध्यक्ष दाहालले जानकारी दिनुभयो ।

खेबाङमा पहिरोले मानवीय क्षति पनि गरेको छ । बिहीबार राति घर माथिदेखि झरेको पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । एकजनाले भागेर ज्यान बचाउन सफल हुनुभएको छ । पहिरोले पुरेर ५७ वर्षीया तुलसा अधिकारी र ३४ वर्षीया यसोदा अधिकारीको मृत्यु भएको हो । ३५ वर्षीय विनोद अधिकारी (विष्णु) भागेर ज्यान बचाउन सफल भए पनि उहाँ गम्भीर घाइते भई हाल विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचाररत हुनुहुन्छ । यस्तै सिरिजङ्घा गाउँपालिकाकै वडा नम्बर ६ मामाङ्खेमा पहिरोले दुई परिवार विस्थापित हुनुभएको छ । स्थानीय रनकुमार माबो र यामबहादुर माबोको परिवार विस्थापित हुनुभएको स्थानीय कैलास माबोले जानकारी दिनुभयो । माबोका अनुसार उहाँहरु दुवै परिवारको घर पहिरोले क्षति पु¥याएको छ ।

यता फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनमा पनि एक घरपरिवार विस्थापित हुनुभएको छ । त्यस्तै आठराई त्रिबेणी गाउँपालिका–१ निघरादिनमा पनि एक परिवार विस्थापित हुनुभएको बताइएको छ । यसरी अन्य पनि धेरै ठाउँमा पहिरोले मानव बस्तीलाई जोखिममा पारेको स्थानीयले बताएका छन् । पहिरोको जोखिमकै कारण फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवा बजारका बासिन्दा केही दिनयता रातिराति घर छोडेर सुरक्षित स्थानमा बास बस्दै आएका सिँवा माविका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिनुभयो । अन्य पनि कतिपय क्षेत्रमा पहिरोको जोखिमका कारण रातभर जाग्राम बस्दै आएका स्थानीयको भनाइ छ ।

केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको र वर्षाको अहिले पनि जारी रहेको छ । वर्षा जारी रहेका कारण जिल्लामा बाढी र पहिरोको जोखिम थप बढ्दै गएको छ । निरन्तरको वर्षा नरोकिएपछि शुक्रबार जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले एक विज्ञप्ति जारी गर्दै सुरक्षा सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । प्रजिअ पोखरेलले विज्ञप्तिमार्फत बाढी र पहिरोको कुनैपनि सङ्कट आएमा तत्काल जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई खबर गर्न पनि आह्वान गर्नभएको छ । त्यस्तै हालसम्म पहिरोले कारण जिल्लाभित्र भएको क्षति तथा नोक्सानीको विवरण सङ्कलनको कार्य पनि जारी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।