दाङको तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार : दुई जना पक्राउ, दुई जना फरार


काठमाडौं, असार ०४। दाङ जिल्लाको तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गत विहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ की २५ वर्षीया सुस्त मनस्स्थितीकी युवतीमाथि सामूहिक बलात्कार भएको हो । प्रहरीका अनुसार युवतीमाथि तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा सामूहिक बलात्कार भएको हो । उक्त घटनामा संलग्न दुई जना पक्राउ परेका छन्, भने अन्य दुई जना अझैँ फरार रहेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर–९ दोघरेका २४ वर्षीय शंकर वि.क. र २३ वर्षीय कमल चौधरी रहेका छन् । अन्य फरार दुई जनाको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट उनीहरुले युवतीलाई बलात्कार गरेर बिहान ३ बजे छाडिदिएको खुल्न आएको छ । उनीहरुले पीडित युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेका हुन् । प्रहरीका अनुसार पीडित युवतीले घरमा गएर बताएपछि शुक्रबार मात्र घटनाको बारेमा खुलासा भएको हो । पीडित युवतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।