एसीपी अस्वीकार गरेर पत्र लेख्ने सरकारको निर्णय


काठमाडौं, असार ०७। सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नेपाली सेनाका तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो । एसपीपी प्रकरणले नेपालका राजनीतिक नेतृत्वको विश्वसनीयता घटाएको र सेनाको साखमा पनि क्षति पुर्‍याएको टिप्पणी भइरहेको छ ।