विदेशमा रहेका नेपालीले भोट दिन पाउने व्यवस्था गर्न कांग्रेसले निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने


काठमाडौं, असार ०७। विदेशमा रहेका नेपाली मतदाताले पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्थाका लागि सत्तारूढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग पुगेर यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग कुराकानी गर्ने भएका छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग सोमबार बालुवाटारमा भएको भेटका क्रममा पनि महामन्त्रीद्वयले विदेशमा रहेका नेपाली मतदाताले भोट दिन पाउने व्यवस्थाका लागि सरकारले पहल गर्नुपर्ने बताएका थिए। सर्वोच्च अदालतले कानून बनाएर विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्ने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिए पनि कार्यान्वयन हुन सकेको छैन। महामन्त्री शर्माको सचिवालय स्रोतका अनुसार आज बिहान ११ बजे प्रमुख निर्वाचन आयुक्तसँग भेटेर विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको प्रयोग गर्न मिल्ने व्यवस्थाका लागि ध्यानाकर्षण गराउने तयारी छ।