यी हुन् मन्त्रिपरिषदले गरेका नेवानि अध्यक्ष अधिकारी निलम्बितदेखि एसपीपी अघि नबढ्नेसम्मका ७ निर्णय


काठमाडौं, असार ०७। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सात वटा निर्णय गरेको छ। मंगलबार बिहान सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्।

नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको छ । यसैगरी बैठकले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झा (धनुषा)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। राससका नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष हुन्। मन्त्रिपरिषद्ले बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरुप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

उनले नेपाल वायु निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने सरकारले निर्णय गरेको बताए। सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णय :

१. संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने।
२. सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालय मार्फत गर्ने।
३. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने।
४. नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने।
५. नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने।
६. कोहलपुर-सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।
७. राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्षमा धर्मेन्द्र झा (धनुषा) लाई नियुक्त गर्ने।