कार्यालय समयमा गुडेका सरकारी गाडीको एमाले कार्यकर्ताले चाबी खोसे


नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गर्ने जनाएका हुन ।

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत कार्यालय समयमै नपुगेका सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसिदिएका छन् । धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए ।

नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडिने उनले बताए । सरकारले एकै दिन पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँ मुल्य बढाएपछि देशैभर विरोध भएको छ ।