कुकुर बोक्न ललितपुरमा भेटरीनरी एम्बुलेन्स


ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्‍याउन बुधबारदेखि भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको हो ।

महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बुधबार महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्‍याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताए ।

‘हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडकपेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदोरहेछ, त्यसैले व्यवस्था गरेको हौं’ उनले भने ।

स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताइन् । ‘बिरामी गाईलाई बोक्न निकै अप्ठ्यारो भएको थियो, अब सजिलो हुन्छ’ उनले भनिन् ।

उनले जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद दिइन् । ललितपुर महानगरपालिकाले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो ।