अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ हजार नजिक


बुधबार बिहानै आएको भूकम्पमा परी अफगानिस्तानमा कम्तीमा नौ सय २० जनाको मृत्यु भएको छ। प्रकोप व्यवस्थापन अधिकारीहरुका अनुसार ६.१ रेक्टर स्केलको भूकम्पमा परी छ सयभन्दा धेरै घाइते भएका छन्।

पहाडी इलाकामा भूकम्प गएका कारण हताहतीको संख्या अझै बढ्ने अनुमान गरिएको डनले जनाएको छ। अफगानी मिडियाहरुले भूकम्पपछिको दृश्यहरु सार्वजनिक गरिरहेका छन् जहाँ मानिसका घरहरु भग्नावशेषमा बदलिएको र जमिनमा शवहरु असरल्ल देखिएका छन्।

घाइतेको उद्धारका लागि, मेडिकल सामग्री आपूर्तिका लागि हेलिकप्टरहरु परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। ‘केही गाउँहरु पहाडी दुर्गम स्थानमा रहेकाले मर्ने र घाइते हुने संख्या बढ्नसक्नेछ’, त्यहाँको गृह मन्त्रालयले भनेको छ।

सनाखत भएको मृत्यु धेरैजसो पूर्वी प्रान्त पक्तिकाका रहेको बताइएको छ। त्यहाँ मात्रै २ सय ५५ मानिसको मृत्यु र २ सय बढी घाइते भएका थिए। त्यस्तै खोस्ट प्रान्तमा २५ जनाको मृत्यु र ९० जनालाई अस्पताल लगिएको बताइएको छ।

बुधबारको भूकम्प सन् २००२ यताकै विनाशकारी रहेको बताइएको छ। अमेरिकी भौगर्भिक सर्वेका अनुसार १ः५४ बजे ९पीएसटी० खोस्ट सहरबाट ४४ किमि दूरीमा पाकिस्तानसँगको सीमानजिकै भूकम्प गएको थियो।

पाकिस्तान र भारतमा समेत थाहा हुने गरी भएको भूकम्प ५ सय किमिमा झण्डै ११ करोड ९० लाख मानिसले थाहा पाएका थिए।