देशका सबै स्थानीय तहले आज बजेट ल्याउँदै


काठमाडौं, असार १०। देशका सबै स्थानीय तहहरुले आज शुक्रबार बजेट ल्याउँदैछन् । स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार आ–आफ्नो सभामा प्रस्तुत गर्नेछन् । कतिपय स्थानीय तहले भने बुधबार बिहीबार नै बजेट ल्याईसकेका छन् । नेपालको संविधानले जेठ १५ गते संघिय सरकारको बजेट, असार १ गते प्रदेश सरकारको बजेट र असार १० गते स्थानीय सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार शुक्रबार देशका प्राय सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने पहिलो वर्ष हो । त्यसैले चुनावमा गरेको वाचा पूरा गर्ने पहिलो बजेट ल्याउन उनीहरु उत्साहित छन् । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरले चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।

आगामी वर्षको लागि चालु आर्थिक वर्षको भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो । बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो ।