अमेरिकामा गर्भपतनबारे ५० वर्ष पुरानो फैसला सर्बोच्चले उल्ट्यायो


 

अमेरिकाको सर्वोच्च अदालतले आफ्नो एक महत्वपूर्ण मुद्दाको फैसलामा गर्भपतनलाई कानुनी अनुमति दिने पाँच दशक पुरानो फैसला उल्ट्याएको छ। यससँगै अब महिलालाई गर्भपतनको अधिकार दिने वा नदिने भन्ने विषयमा सम्बन्धित राज्यले आ–आफ्नो फरक फरक नियम बनाउन सक्नेछन्।

जानकारहरुले अदालतको यो फैसलाले अमेरिकामा गर्भपतनको अधिकार परिवर्तन हुन सक्ने बताएका छन्। यो फैसलासँगै अब अमेरिकाका धेरै राज्यमा गर्भपतनमा रोक लगाउने कानुन आउन सक्ने बीबीसीले उल्लेख गरेको छ।

अमेरिकाका १३ राज्यले यसअघि नै गर्भपतनलाई गैरकानुनी घोषणा गरिसकेका छन्। यो कानुन सर्वोच्च अदालतको फैसलापछि लागू हुनेछ। अन्य राज्यहरुले पनि छिटै नै यस किसिमको कानुन ल्याउन सक्ने अनुमान गरिएको छ।

यद्यपि महिला अधिकारकर्मीहरुले भने गर्भपतनलाई कानुनी अधिकार दिइनुपर्ने बताउँदै आएका छन्।

सर्वोच्च अदालतले १५ साताभन्दा धेरै समयको भ्रूणको गर्भपतनको मुद्दामा फैसला सुनाउँदै यो अधिकार संविधान प्रदत्त नरहेको र यो निर्णय गर्ने अधिकार आगामी दिनमा जनताले चुनेका प्रतिनिधिको हातमा हुनुपर्ने बताएको हो।

सर्वोच्च अदालतले सुनाएको यो फैसला अदालतको पुरानो फैसलाको विपरीत हो। यसले अमेरिकाका फरक फरक राज्यमा राजनीतिक संघर्ष अर्को तहमा पुग्न सक्ने विश्लेषकहरुले बताएका छन्।