राजधानीका ९ स्थानमा १२ जनालाई हैजा लागेको पुष्टि


राजधानीमा हैजाका बिरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

कार्यालयले पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ । जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् ।

आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ । यस्तै ललितपुर महानगरपालिकाले खुल्ला रुपमा विक्री गर्न राखीका खानेकुरा नखान र विक्री वितरण नगर्न समेत सबैमा आब्हान गरेको छ ।