काठमाडौं, असार १३ । मनसुन देशभर फैलिएको छ । प्रदेश-१ बाट गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन अहिले देशभर नै फैलिएको छ । सुदूरपश्चिममा हिजो प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको हो । मनसुनि गतिविधि सक्रिय रहेकाले आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभरको मौसम बद्ली भएर धेरै ठाउँमा पानी परिरहेको छ ।
प्रदेश-१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । भरे राति र भोलि पनि देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् भट्टराईले बताउनुभयो । गएरातिदेखि नै पानी परिरहेको तथा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ । यतिबेला खेतीपातीको काम गर्ने समय भएकाले खोला तथा नदी आसपास जाँदा वा भिरालो जमिनबाट ओहोरदोहोर गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । आज र भोलि लगातारजसो पानी पर्ने भएकाले काम विशेषले मात्रै हिँड्न र साथमा छाता, रेनकोट वा घुम र प्लास्टिक बोक्न पनि सुझाव दिइएको छ ।