गायिका सुनार मृत्यु प्रकरण : सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति


काठमाडौं, असार १४ । गायिका दिलमाया सुनारको हत्या आशंकामा समातिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । गत शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया कामी (सुनार) काठमाडौंस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

तारकेश्वर नगरपालिका-११ नेपालटारस्थित एक घरमा डेरा गरी बस्ने दिलमायाको हत्या आशंकामा उपत्यका अपराध अनुसन्धान महाशाखाले सिन्धुपाल्चोकको साँगाचोकगढी-२ का सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले दिलमायाले झुण्डिएर आत्महत्या गरेको बयान दिएका छन् । तर दिलमाया झुण्डिएको भनिएको पासो महाराजगञ्जमा सडकको नालीमा फेला परेको छ । उक्त सल श्रेष्ठले नै त्यहाँ फालेको खुलेको छ ।

मृतकको मोवाइल अझै भेटिएको छैन । यस्तै मृतकका आफन्त आइतबार साँझ आइपुगेपछि पोष्टमार्टम गरिएको छ । तर रिपोर्ट आउन बाँकी रहेको बालाजु वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् । चार सन्तानका बाबु ३८ वर्षीय सूर्य र एक छोराकी आमा दिलमाया श्रीमान श्रीमती बताएर सँगै बस्ने गरेको खुलेको प्रहरीले जनाएको छ । ८ बजे दिलमायाको कोठामा पुगेका सूर्य भोलिपल्ट बिहान ४ बजे त्यहाँबाट भागेको पाइएको छ । दिलमायाका बुबाले सूर्यविरुद्ध कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएका छन् । प्रहरीले जाहेरी दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।