निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बिकल्प खुला


काठमाडौं, असार १६। बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले हालसम्म गरेका सबै निर्णयहरू बदर गरिदिने आदेश दिएको एक महिनापछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पाँच सदस्यीय वृहत पूर्ण इजलासका न्यायाधीशहरू अहिलेसम्मका निर्णय बदर गर्न सहमत भएका छन्, तर यसपछिका विकल्प के हुन् भन्नेबारेमा उनीहरूले फरक फरक राय लेखेका छन् ।

बहुमत तीन जना न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतको तर्फबाट न्यायाधीश खतिवडाले लेखेको रायमा न्यून वातावरणीय क्षति र प्राविधिक दृष्टिले उपयुक्त स्थानमा विमानस्थल निर्माण गर्न आदेश दिइएको छ । आफ्नो र मनोजकुमार शर्माको तर्फबाट राय लेख्दै न्यायाधीश हरिकृष्ण कार्कीले निजगढमै कम वातावरणिय क्षतिमा विमानस्थल निर्माणको विकल्प खोज्न सरकारलाई आदेश दिनुभएको छ । एउटै फैसलामा दुई फरक फरक रायसहितका आदेश आएको भए पनि बहुमतको राय मान्य हुनेछ ।

२०७८ फागुन ५ देखि सुनुवाइ थालेको सर्वोच्चले वैशाख १३ सम्म सातौं पटक सुनुवाइ गरेर गत जेठ १२ मा आदेश सुनाएको थियो । लिखित आदेश नआएका कारण निजगढ विमानस्थलको भविष्य के हुनेछ भन्ने आम अन्योलकाबीच बुधबार सर्वोच्चले पूर्णपाठ सार्वजनिक गरेको छ । पूर्णपाठमा उल्लेखित बहुमतको रायले निजगढमा नै विमानस्थल निर्माण गर्न स्पष्ट शब्दमार्फत् रोक लगाएको छैन तर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा पर्यावरणसम्बन्धी मापदण्डलाई अनिवार्य पालना गर्न आदेश दिएको छ ।