मोडेल स्कुलको होस्टेलमा क्यान्टिनमा काम गर्ने महिला मृत फेला


काठमाडौं, असार १९। बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल(केएमसी स्कुल)को होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनी केएमसीको क्यान्टिनमै कार्यरत थिइन्। काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको हो।

मैनाली भन्छन्, ‘स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटिएकी हुन्। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली शनिबार राती नै केएमसी पुगेको थियो। घटनाको अनुसन्धान भैरहेको छ।’

रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन्। शनिबार बेलुका ७:३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गरेका थिए। घटना भैसकेपछि विद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ । पारिवारका अनुसार उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सोही होस्टलमा काम गर्थिन्। मृतककी ३ दिदी बहिनी र १ जना दाजु छन्। उनी जेठी छोरी हुन् । आमाबुबा भने गाउँमै खेती गर्छन्।