जनयुद्धकालिन नेतृत्वलाई खुल्ला पत्र


आदरणीय कमरेडहरू,
शान्ति प्रक्रियामा प्रवेश गरेसँगै तपाईहरू (मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, आदि) माओवादी पार्टी र नेतृत्वसँग असहमत हुँदै क्रान्तिको अलग धार निर्माण गर्ने कोशिस गर्नुभयो। त्यसभित्र क्रान्तिको सपना र आग्रह के–कति थियो, त्यसमाथि भविष्यसम्म समीक्षा र विश्लेषण होला नै। तर, परिणाम हेर्दा तपाईहरूले क्रान्तिको धार निर्माण गर्न सक्नुभएन। तसर्थ, निम्न तथ्यका आधारमा तपाईहरू मूलघरमा फर्किनुको अर्को बिकल्प छैन।

१. हाम्रो क्रान्ति रूस, चीन, कोरिया, क्युवा वा बीसौं शताब्दीका समकालीन क्रान्तिहरूको अन्धानुकरण थिएन। हाम्रो आफ्नै विशेषता र मौलिकतामा आधारित थियो। यो कुरा पार्टी र नेतृत्वले जनयुद्धको तयारीदेखि लगातार भन्दै आएको थियो। तर, तपाईहरूले क्रान्ति देशको भूगोलमा हेर्नुभएन, जनताको जीवनमा देख्नुभएन, केवल किताबमा मात्रै खोज्ने प्रयत्न गरिरहनुभयो। यसले तपाईहरूलाई वस्तुवादी होइन मनोगतवादी आग्रहमा पुर्‍यायो।

२. क्रान्तिको भविष्य शक्ति सन्तुलनले निर्धारित गर्दछ। तर, तपाईहरू शास्त्रहरूलाई मानक ठान्नुभयो। शास्त्रले जीवनलाई दिशानिर्देश अवश्य गर्छ, तर तततत् परिस्थितिका समस्याहरू सम्वोधन गर्दैन, त्यसका निम्ति हाम्रै मौलिक कार्यनीति चाहिन्छ। वैद्य–विप्लवहरू मौलिक विशेषता अस्वीकार गर्नुभयो, त्यसले तपाईहरूलाई रूढीवादमा पुर्‍यायो। डा। भट्टराईहरू मार्क्सवाद नै परित्याग गर्ने ठाउँमा पुग्नुभयो, यसबाट तपाईहरूको राजनीतिक विमान ‘टावरको नेटवर्क’बाट बिच्छेद हुँदै अनकन्टार पहाडमा ठोक्कियो।

३. प्रचण्ड प्राप्त उपलब्धि जोगाएर अघि बढ्न चाहनुहुन्थ्यो। ‘भूइँको टिप्दा पोल्टाको गुम्नसक्ने’ खतराप्रति उहाँ अत्यन्तै सचेत हुनुहुन्थ्यो। केही अनुभवजन्य सीमाबाहेक उहाँको नियतमा खोट थिएन। तर, तपाईहरू हरेक घटना र निर्णयलाई आग्रहपूर्ण नजरले हेर्न थाल्नुभयो। गणतान्त्रिक व्यवस्थाको प्रणेताले गणतन्त्रको रक्षाका निम्ति चालेका हरेक कदममा खोट देख्न थाल्नुभयो। समस्या प्रचण्डमा थिएन, तपाईहरूको दृष्टिकोणमा थियो, टाढासम्म हेर्ने दूरदृष्टिमा थियो। कतिपय अवस्थामा विरोधीले भरिदिएको ‘बेलुन’मा थियो। वर्तमानले यही तथ्य प्रमाणित गर्दछ।

४. जनयुद्धका कार्यभार बाँकी नै थिए। तर, प्राप्त उपलब्धि सामान्य थिएनन्। गणतन्त्रको घोषणा नयाँ युगको उद्घोष थियो। संघीयताबाट भूइँमान्छेहरू तंग्रिएका थिए। समावेशी चरित्रले अल्पमतवादीहरूको शासन ढाल्दै थियो। सामाजिक न्यायले श्रमजीवीहरू राजनीतिमा जीवन देख्दै थिए। तर, तपाईहरू यी सबै कुरालाई क्रान्ति देख्नुभएन, बरू फगत पुँजीवादका विशेषता मात्र देख्नुभयो। हातमा आएको सुनलाई बेसार देख्नुभयो र झाडीमा फालिदिनुभयो।

५. वैद्य कमरेडहरू जनयुद्ध भाग–२ तिर लाग्नुभयो। सिद्धान्तमा नयाँ कुरा भनिए पनि तपाईहरूको एकमात्र ध्येय जनयुद्धको निरन्तरता थियो। त्यसमा तपाईहरू पूर्णतः असफल हुनुभयो। फुटको महामारी तपाईहरूको पार्टीमा पनि सर्‍यो। विप्लवहरू अलग भएपछि तपाईहरूको पार्टी नराम्रोसँग थलियो। जनविद्रोहको नयाँ नारा दिनुभयो। यो पनि ‘सिरकभित्र मुड्की ताक्नुबाहेक’ फलदायी हुन सकेन। किनकि तपाईहरूको कार्यदिशा जमिनमा थिएन, हावामा थियो। आज तपाईहरू कम्पास नभएको जहाजजस्तो त हुनुहुन्छ नै, पार्टीको अस्तित्व रक्षा गर्नसमेत धौ–धौ भएको छ।

६. विप्लव कमरेडहरू पार्टी फुट भाग–२ को अभ्यास गर्दै नयाँ पार्टी बनाउनुभयो। दिमागमा जनयुद्धको निरन्तरता र नाममा एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर तपाईहरू सशस्त्र संघर्षमा होमिनुभयो। तर, तपाईहरू चढेको जहाज पनि गन्तव्यविहीन थियो। राज्यको दमन भोग्नुभयो, कति क्रान्तिवीर गुमाउनुभयो, कष्टकर संघर्ष गर्नुभयो। कतिपयले बंगाला पनि ठड्याए, क्रान्तिलाई मोलमोलाइको साधन पनि बनाए। क्रान्तिमा यी र यस्ता प्रयत्न र प्रवृत्तिहरू हुन्छन् नै। तर, तपाईहरूले पनि क्रान्तिको छेउटुप्पो पत्ता लगाउन सक्नुभएन। बरू, कम्युनिस्ट आन्दोलनका विशाक्त पात्र र प्रवृत्तिसँग घाँटी जोड्नुभयो। फुटका लागि ‘प्रोभोव’ गर्ने तपाईको स्कुलले ओली, बास्तोलाहरू अलग्गिए। तपाईहरू प्रतिगामी गठबन्धनमा उभिएर चुनावमा पनि होमिनुभयो। तर, नतिजा शून्यप्रायः छ। दुर्घटनाग्रस्त जहाज कतिबेला सर्वनाश हुन्छ, कार्यकर्ता चिन्तामा छन्।

७. डा. भट्टराईहरू विचारभन्दा शक्ति ठूलो देख्नुभयो। विचार र बाटो निर्माण छोडेर शक्ति निर्माणमा लाग्नुभयो। ‘‘सबै सिद्धान्तभन्दा माथि मेरो विद्वता’’को भ्रममा पर्नुभयो। कांग्रेस, एमाले, माओवादी, राप्रपा सबै दलका मान्छे ल्याएर डाइनोसर जत्रो पार्टी बनाउने सपना देख्नुभयो। तर, परिणाम त्यस्तो भएन। न तपाईहरूले बैकल्पिक विचार दिन सक्नुभयो, न बैकल्पिक शक्ति नै निर्माण भयो। बरू, सतिदेवीको जस्तै अंगप्रत्यंग खस्दै जाँदा तपाईहरू अहिले विलुप्तताको संघारमा हुनुहुन्छ। पुँजीवादप्रति तपाईहरूको असीम प्रेम र याचना हुँदाहुँदै पनि तपाईहरूलाई पुँजीवादीले पत्याएनन्। तपाईहरू आफ्नो इतिहासको घृणा गर्नुहुन्छ, तर पुँजीवादीहरू तपाईलाई ‘पूर्वकमरेड’ नै देख्छन्। तैपनि सत्य पचाउन तपाईहरूलाई मुस्किल भइरहेको छ।

८. अरू थुप्रै कमरेडहरू क्रान्तिका नयाँ–नयाँ सपना देख्दै अलग्गिँदै गर्नुभयो। तर, ती तपाईहरूका सपना मात्र थिए, यथार्थ थिएन। कतिपयले कोठाभित्र समाजवादको सुनौलो भविष्य देख्नुभयो। कतिले माओवादी र प्रचण्डको राक्षसीकरण नै नयाँ क्रान्ति देख्नुभयो। तर, परिणामले ती सबै गलत सावित गरिदिएको छ।

९. तपाईहरू सबैले क्रान्तिको प्रयत्न गर्नुभयो। शक्तिआर्जनका निम्ति सम्भव सबै उपाय अपनाउनुभयो। तपाईहरूको महत्वाकांक्षाले सानो लक्ष्य लिन दिँदैनथ्यो। तर, नियमविपरित हिँडेर ठूलो लक्ष्य चुमिँदैनथ्यो। सफलता चुम्न तपाईहरूले चालेका कदम असफलतामा टुंगिएका छन्। किनकि तपाईहरूको सोंच नियमसंगत थिएन। त्यसैले, तपाईहरूले भविष्यमा कुनै चमत्कार गरिहाल्नुहोला भन्ने भ्रम पनि अब निवारण भएको छ। फेरि क्रान्ति गरिहाल्छौं, विशाल शक्ति बन्छौं भन्दा अब कार्यकर्ताले पत्याउँदैनन्, बरू त्यो मजाकको विषय बन्छ।

१०. तपाईहरू प्रचण्ड बन्ने पनि कोशिस गर्नुभयो। प्रचण्डसँग के छ, हामीसँग के छैन रु जस्ता प्रश्नहरूले तपाईलाई डोर्‍यायो। तर, प्रचण्डको पुनरावृत्ति सम्भव थिएन, न प्रचण्ड कसैको चाहनाको परिणाम मात्र थियो। यो द्वन्द्ववादी प्रयोग र आवश्यकताको परिणाम थियो। तर, अब तपाईहरूमा आफैलाई प्रचण्ड बनिएला भन्ने विश्वास छैन। बाहिर भन्न त नमिल्ला। तर, तपाईहरूको अन्तर्मनले आफू असफल भएको निष्कर्ष निकालेकै होला। हजारौं पुस्तकहरूले नदिएको ज्ञान एउटै अनुभवले दिन्छ भन्ने युक्ति स्मरण गर्नुभएकै होला।

११. अपेक्षित सफलता मिलेको छैन। तर, अबको बाटोमा माओवादी र प्रचण्ड प्रष्ट छन्– रणनीतिमा दृढ हुने तर लचक कार्यनीति अपनाउने, आफैले लडेर ल्याएका उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्ने, बदलिएको व्यवस्थाअनुसार अवस्था बदल्न कोशिस गर्ने, राजनीतिक प्रतिस्पर्धाका माध्यमबाट समाजवादको आधार तयार पार्ने र राजनीतिक शक्ति सन्तुलनको हेक्का राख्दै समाजवादमा प्रवेश गर्ने। प्रचण्डले अघि सारेको यही बाटोमा माओवादी छ, अनि सिंगो देशसमेत छ।

अब कुनै पनि तर्क वा बहानामा तपाईहरूले फुटको औचित्य पुष्टि गर्न सक्नुहुन्न। एकतामा जीत छ, विनम्रतामा जीत छ, आत्मसमीक्षामा जीत छ। अहम् र आग्रहले एकछिन त जितिएला। तर, तपाईहरूलाई युगौंयुग हराउनेछ। तसर्थ, आउनुस् ः लक्ष्यमुखी सार्थक बहस गरौं। पूर्वाग्रह छोडेर अधुरा काम पूरा गर्न एकतावद्ध होऔं। शक्तिशाली माओवादी आन्दोलन निर्माण गरौं।–मनहरि तिमिल्सिना, मोदी गाँउपालिका पर्वत