अर्थमन्त्री शर्मा माथि संसदीय छानबिन हुने, राजीनामा दिनुपर्ने एमालेको शर्त


प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त राखेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको थियो । सत्तारुढ दलहरु सुरुमा संसदीय समिति गठनका लागि तयार भएनन् ।

बरु अर्थ मन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको बतायो । यसपछि अर्थमन्त्री शर्मामाथि राजीनामाको चर्को दबाव परेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच यसबारे छलफल भएको थियो । बुधबार माओवादी संसदीय छानबिन समिति बनाउन तयार भयो । त्यसअघि अर्थमन्त्री शर्माले संसदमा बोल्ने भन्दै माओवादी नेताहरुले एमाले नेताहरुसँग छलफल गरेका थिए ।

तर एमालेले शर्मालाई स्पष्टीकरण दिने अवसर नदिने अडान मात्र लिएन, संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको छ । छलफलमा सहभागी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले त्यसको पुष्टि गरेका छन् ।
यता अर्थसचिव मधु मरासिनी श्रीमती विरामीभएको भएको भन्दै मुख्य सचिवलाई जानकारी गराएर विदामा बसेका छ ।