अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्य समिति गठन


अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले छानविन टोलीको नाम प्रस्तुत गरेका छन् ।

संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।

जेठ १५ गते अर्थमन्त्रीबाट टेबुल भएको विनियोजन विधेयकमा अनाधिकृत व्यक्तिले करको दरमा हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले छानविन समिति बनाउन माग गर्दै आएको थियो । समितिलाई आर्थिक विधेयकमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सत्य तथ्य छानविन गरी सभामा प्रतिवेदन पेश गर्ने सभामुखले निर्देशन दिएका छन् । समितिलाई १० दिनको समय दिइएको छ ।