अर्थमन्त्री जनार्दन शर्माबाट राजीनामा


अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो ।

अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । बुधबार विहान माओवादी केन्द्रको शीर्ष नेताको बैठकमा अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको थियो । सोहीअनुसार शर्माले अर्थमन्त्रीबाट राजीनामा घोषणा गरेका हुन् ।
राजीनामा दिनुअघि मन्त्री शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै उनले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको भन्दै अर्थमन्त्रीमाथि सार्वजनिक रुपमा प्रश्न उठेको छ ।

त्यस क्रममा उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको समयको सीसीटीभी फुटेज माग्दै अर्थ मन्त्रालयमा सूचनाको हकसम्बन्धी ऐन अनुसार निवेदन दिएको थियो । त्यसको जवाफमा अर्थ मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको बताएको थियो ।

अर्थ मन्त्रालयले संरक्षण गर्नुपर्ने सीसीटीभी फुटेज डिलिट गरेर साइबर अपराध गरेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठेको छ । त्यसको जवाफ दिने क्रममा बुधबार अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज डिलिट गर्‍यो भनेर भ्रम छरिएको बताए ।

‘कुन सीसीटीभिीको क्षमता मलाई कसरी थाहा हुन्छ रु ‘यो विषय प्राविधिक मान्छेहरुले अनुसन्धान गर्लान्, मैले डिलिट गर्न पर्ने पनि छैन र यसको ज्ञान पनि छैन’ उनले भने ।