पशुपतिमा पर्यटनमन्त्रीको टोली जुत्तासँगै प्रवेश, पशुपति क्षेत्र भन्छ : भिआइपीलाई कसरी खोल्न लगाउनु ?


काठमाडौं, असार २४। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसहितको टोलीले पशुपतिनाथ मन्दिर परिसरमा छालाको जुत्ता लगाएर खिचेको तस्विरको सामाजिक सञ्जालमा अहिले चर्को आलोचना र विराेध भएको छ। मन्दिर परिसरमा जुत्ता लगाएर जान निषेध गरिए पनि मन्त्रीसहितको टोली जुत्तासँगै छिरेपछि यतिखेर सामाजिक सञ्जालमा चर्को विरोध भएको हाे। मन्त्री श्रेष्ठ पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन बिहीबार पशुपति क्षेत्र पुगेका थिए।

अहिले पनि भक्तजनहरूलाई मन्दिर परिसर बाहिर नै जुत्ताचप्पल खोल्न लगाइन्छ र राख्ने व्यवस्था छ‚ भित्र लान दिँदैनन्। तर मन्त्रीहरू भने जुत्ता नफुकाली प्रवेश गरेका हुन्। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले उक्त फोटो फेसबुकमा हालेर लेखेका छन्, ‘मैले थाहा पाए अनुसार र मेरो अनुभव अनुसार आराध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा जुत्ता लगाएर जान निषेध गरिएको छ, मन्दिरबाट करिब १०० मिटर जति वरै जुत्ता राख्ने ठाउँ छ र भक्तजनहरू निर्धारित सीमाबाट खाली खुट्टा मन्दिरतर्फ जानुपर्छ। कत्रो हिम्मत मन्त्रीजीमा? तपाईं मन्त्री हुने बित्तिकै सारा टिम सहित जुत्ता लगाएर त्यहाँसम्म पुग्ने हिम्मत कसरी गर्नुभयो?’

उनले पवित्र देवस्थलमा मन्त्री श्रेष्ठले विभेदकारी सिर्जन गरेकाे उल्लेख गरेका छन्। ‘सर्वसाधारणभन्दा भिन्न तवरले पवित्र स्थलमा यस्तो विभेदकारी अवस्था सिर्जना गर्ने तपाईंलाई अलिकति पनि लाज लाग्नुपर्ने हो’, उनले लेखेका छन्। त्यसैगरी अन्सुल लोहनीले पनि फेसबुकमा लेखेका छन्, ‘भिआइपीले त पशुपतिनाथको मुखमै जुत्ता बजार्न पनि मिल्ने रहेछ है, हुनत गतिलोसँग नियमपूर्वक काम गरेको नियम माने पो थाहा हुन्छ। यिनीहरू त अनपढ गँवार नै भए बुझेनन् तर पशुपति विकास कोष के हेरेर बसेको होला? घोर विरोध गर्न चाहन्छु।’

पशुपति कोष भन्छ : भिआइपीलाई कसरी बाहिर खोल्न लगाउनु ​यता पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले भने भिआइपी भएर बाहिर खोल्न नलगाएको तर्क राखे। ‘उहाँहरू मन्दिरभित्र जुत्ता लगाएर जानु भएको होइन, त्यो गेटसम्म त लगाएर जान पाइन्छ’‚ उनले भने। सामाजिक सञ्जालमा देखिएको तस्बिर भने त्यसै आलोचना मात्रै गरिएको उनले बताए। अन्य भक्तजनहरूलाई मन्दिर परिसर बाहिर नै जुत्ता फुकाल्न लगाइने तर मन्त्री श्रेष्ठमा किन नियम लागू गराइएन भन्ने प्रश्नमा सदस्य सचिव थापाले भने, ‘अब भिआइपीलाई त बाहिर कसरी खोल्नु भन्नु, उहाँहरू मन्दिरभित्र त जानु भएको छैन नि।’