चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा


चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आउँदै छन् । चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । भेटमा नेपाल–चीन सम्बन्धका साथै दुई पक्षीय हितका विषयमा छलफल हुने चिनियाँ दूतावास स्रोतले बतायो ।

जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । पहिलो विदेश भ्रमणको लागि जियानचाओले नेपाल रोज्नुलाई अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार आगामी संघीय निर्वाचनमा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीबीच सम्भव भए एकता र नभए वाम गठबन्धन बनाएर जाने वातावरण बनाउनु पनि उनको भ्रमणको उद्देश्य हो । ‘चिनियाँ चासो आगामी निर्वाचनमा दुई कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन बनाएर जाउन भन्ने हो । त्यसका लागि पहिले पनि केही चरणमा अनौपचारिक संवादहरू भइसकेका छन्,’ स्रोतले भन्यो, ‘जियानचाओले नेपाल भ्रमणका क्रममा त्यसको वातावरण भए नभएको बुझ्ने हुनसक्छ ।’

चिनियाँ पक्षले नेपालमा अमेरिकाको प्रभाव बढेको मानेको छ । पछिल्लो पटक अमेरिकी परियोजना एमसीसीबारे नेपालमा चर्को बहस हुँदा चिनियाँ पक्ष आरोप प्रत्यारोपमै उत्रिएको थियो । पछिल्लो पटक अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीलाई अस्वीकार गर्ने निर्णय नेपाल सरकारले गर्दा पनि चीनले स्वागत गरेको थियो ।अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तयारी चलिरहेको छ । त्यसअघि सीपीसीका विदेश विभाग प्रमुख नेपाल आउन लागेका हुन् ।