चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले एमाले, माओवादी र समाजवादीका शीर्ष नेतालाई भेट्दै


काठमाडौं, असार २७। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओले आज एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै हुनुहुन्छ । बिहान सुन्दरीजल क्षेत्रको भ्रमण गरेपछि उहाँसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ ।

लिउले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । उहाँ पर्सि बुधवार बेइजिङ फर्कनु हुनेछ । हिजो काठमाण्डौ आएका उहाँले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो । भेटमा उहाँले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिनुभएको छ । नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको उहाँले बताउनुभएको छ ।

सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको उल्लेख गर्नुभएको छ । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुनुहुन्छ । यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो । नेपालको भूमि प्रयोग गरेर आफ्नो देशलक्षित कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहना छ ।