काठमाण्डौको नागार्जुनमा चितुवाको आक्रमणबाट पाँच जना घाइते, एक जनाको अवस्था गम्भीर


काठमाडौं, असार ३०। काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष सुरजकुमार पोखरेलले  जानकारी दिनुभयो । उहाँका अनुसार गएराति १ बजेतिर घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेको थियो ।

‘कुखुरा कुरेर त्यहीँ छाप्रोमा बसेका राम भट्टराईले खोरमा ठूलो बिरालो पसेको भन्दै आमाबुबालाई बोलाउन घरमा गएका रहेछन्’, उहाँले भन्नुभयो– ‘आमाबुबा खोरमा आउँदा झ्यालमा राखेको जाली भत्किएको देखेपछि बाहिरबाट आमा सरस्वती भट्टराईले जाली बान्न लाग्दा खोरभित्र रहेको चितुवाले हात तानेको थियो । त्यसपछि खोरको ढोका खोल्दा बुबा कुमार भट्टराई र हजुरआमा कान्छी भट्टराईलाई समेत चितुवाले आक्रमण गरेछ ।’ ७७ वर्षकी हजुरआमा कान्छी भट्टराईको टाउको र शरीरभरि घाउ चोट लागेको छ भने हात पनि भाँचिएको छ ।

यस्तै, चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी सुविन भट्टराई पनि घाइते हुनुभएको छ । घाइते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जना डिस्चार्ज भएका छन् । ७७ वर्षकी हजुरआमा कान्छी भट्टराई र उहाँका छोराबुहारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घाइतेको सीतापाइलामा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको हो ।

‘चितुवा खोरबाट भागेको छ तर यहाँ पटक पटक चितुवाले आक्रमण गर्दै आएको छ’, वडाध्यक्ष पोखरेलले भन्नुभयो– ‘शिवपुरी राष्ट्रिय निकुञ्जको पर्खाल भत्किएपछि जङ्गलबाट आहाराको खोजीमा चितुवा बस्तीमा पस्न थालेको छ ।’ चितुवाको जोखिम बढेकाले यसको र रोकथामका लागि निकुञ्जका अधिकारीहरुसँग छलफल भइरहेको पनि वडा अध्यक्ष सुरजकुमार पोखरेलले जानकारी दिनुभयो ।