‘पब्जी’ प्रतियोगीता गराउन मेयर बालेनले महानगरको कोषबाट १ करोड दिए


काठमाडौँ महानगरपालिकाले रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ दिएको छ । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले निर्वाचनका क्रममा रुटिन अफ नेपाल बन्दले गरेको सहयोगको गुन १ करोड रुपैयाँ दिएर तिरेको अर्थमा यसलाई हेरिएको छ ।

केही दिन अघि मात्रै र्‍यापर यम मुद्धको सालिक बनाउन बजेट विनियोजन गरेर विवादित बनेका बालेनले पुनः रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ दिएको विषय बाहिर आएको हो । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी बालेनले बजेटमा १ करोड रकम विनियोजन गरिदिएका हुन् ।

पौडेल सञ्चालक रहेको ‘ई–स्पोर्ट’लाई बालेनले १ करोड रकम विनियोजन गरिदिएका हुन् । नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालन गर्न आधिकारिक कम्पनीको रूपमा पौडेल सहभागी रहेको ‘डिआरएस’ नामक कम्पनी मात्र दर्ता छ । यसले पब्जी, फ्री फायर जस्ता अनलाइन खेलको प्रतियोगीता गराउने बुझिएको छ ।

यस विषयमा पौडेलले भने चुनावमा रुटिन अफ नेपाल बन्दले बालेनलाई सहयोग गरेकै कारण बजेट दिईएको भन्ने कुरा गलत भएको उल्लेख गरेका छन् । हिमालयन टेलिभिजनमा पनि यस सम्बन्धि समाचार प्रशारण भएपछि पौडेलले रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

‘प्रिय हिमालयन टेलिभिजन, म ई–स्पोर्ट टिमको सह–स्थापक हुँ, आयोजक हैन । रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन । बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु । आरोप प्रमाणित गर्नुहोस् झुण्डिएर मर्न तयार छु’ उनले लेखेका छन् ।